काठमाडौं– तीन दिने नेपाल भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ।
विदेशमन्त्री करिन र परराष्ट्रमन्त्री ज्ञवालीबीच भएको भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा व्यापार, लगानी, प्राविधिक, दीर्घकालीन विकास, वातावरण संरक्षण, उर्जा र प्रति आतंकवाद जस्ता विषयमा छलफल भएको जनाइएको छ।
यसै वर्ष दुई देशबीच दैत्त सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दै छ। पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'नेपाल–अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षको अवसरमा अष्ट्रियाबाट भएको उच्चस्तरीय भ्रमणलाई महत्वपूर्ण छ।'
यस्तै कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र अष्ट्रियाबीच भौगोलिक रुपमा समानता रहेको बताउँदै नेपाल जस्तै भूपरिवेष्टित देश अष्ट्रियाले अतिकम विकसित राष्ट्रको पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भूमिकाको प्रशंसा गरे।
नेपालको ऐतिहासिक तथा पूरात्तात्विक महत्वको स्थान संरक्षण गर्न अष्ट्रिया सरकारले प्रदान गरेको सहयोगको पनि प्रशंसा गरेका छन्।
यस्तै कार्यक्रममा बोल्दै अष्ट्रियाकी विदेशमन्त्री केनिसिलले नेपालको दिर्घकालीन विकासको क्षेत्रमा सहयोग गर्न आफ्नो सरकार तयार गरेको बताएकी छन्।
यस्तै उनले नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासको क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया सरकार तयार रहेको बताएकी छन्।
संयुक्त राष्ट्रसंघ सम्बन्धित विभिन्न संस्थाहरू अष्ट्रियाको राजधानी भियनामा रहेको छ।
यस्तै कूटनीतिक आचार संहिताको रुपमा व्याख्या हुने भियना कन्भेन्सन १९६१ पनि अष्ट्रियाबाटै सार्वजनिक भएकाले अष्ट्रियाको अन्तर्राष्ट्रिय राजनीतिमा एक विशेष स्थान रहेको पाइन्छ।
परराष्ट्रमन्त्री ज्ञवालीले गत सेप्टेम्बर महिनामा अष्ट्रियाको भ्रमण गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणमा केनिसिल नेपाल भ्रमणमा आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।