मेलम्ची- बढ्दो बेरोजगारी, अनपेक्षित प्राकृतिक तथा सामाजिक वातावारण, विभिन्न स्थानमा धार्मिक, जातीय तथा राजनीतिक द्वन्द्वजस्ता वर्तमान समयमा युवाले सामना गर्नुपरिरहेको समस्याका विषयमा छलफल गरी सिन्धुपाल्चोकका युवाले सरोकारवालाको प्रतिबद्धतासहित बिहीबार मेलम्चीमा ‘सिन्धुपाल्चोक घोषणापत्र’ जारी गरेका छन्।
दुई वर्षसम्म सिन्धुपाल्चोकमा अति सीमान्तकृत समुदायमा रहेका केही युवाबीच गरिएको एउटा अध्ययनले पनि प्राकृतिक विपद्ले मात्र नभई पारिवारिक गरीबी, अभिभावकको बिग्रँदो सम्बन्ध, बाल्यावस्थामा भएको बेवास्ता, घरेलु हिंसा, तथा परिवारबाट बिछोडजस्ता अनुभवले सिन्धुपाल्चोकमा रहेका सीमान्तकृत युवाको अनिश्चिततालाई प्रभाव पारिरहेको देखाएको छ। यसले युवा कम उमेरमै घरको आर्थिक अवस्थालाई सहयोग पुर्याउन जिम्मेवार हुनुपरेको अध्ययनले उजागर गरेको छ।
सिन्धुपाल्चोकमा सामुदायिक आत्मनिर्भर केन्द्रले संयोजन गरेको घोषणापत्रमा गरीबीका कारण युवा आफ्नो शिक्षालाई निरन्तरता दिन सङ्घर्षरत रहेको उल्लेख छ। कम उमेरमै युवा श्रम गर्न बाध्य छन्। घरायसी कामको भार तथा लामो दूरी तय गरेर विद्यालयसम्म जानुपरेका कारण आफ्नो पठनपाठनमा पर्याप्त समय दिन महिला, युवालाई कठिन भइरहेको छ। नेपालको शिक्षा प्रणालीलाई लिएर युवामा अनिश्चितता देखिन्छ। रोजगारीको अवसरसँग जोडेर युवाहरुले शिक्षाको उपादेयतालाई प्रश्न गरिरहेका छन्। कृषिका लागि धेरै परिवारको आफ्नै जमिन छैन। त्यसकारण अभिभावक रोजगारीको अवसर खोज्दै अन्य ठाउँमा बसाइँसराइ गरिरहेका छन्।
जसको अभिभावक विदेशमा रहेर श्रम गरिरहेका छन्, ती युवाले आफ्नो अभिभावकसँग राम्रो पारिवारिक सम्बन्ध नभएको कार्यक्रममा सहभागी युवाले बताए। अधिकांश युवाले जातीय विभेद र उत्पीडन व्यहोरिरहेको अध्ययनले देखाएको छ।
कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले स्थानीय तहमा गरिने योजना निर्माण प्रक्रियामा युवालाई सहभागी हुन अनुरोध गरे। उनले अबको कार्यक्रम युवाले पेस गरेको मागपत्रलाई ध्यान दिई योजनामा थप गरी विस्तारै कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय तहमा गरिने काममा बाहिरी व्यक्ति सहभागी भएकाले स्थानीयवासी युवाले पनि स्थानीय तहमा हुने विकासका कार्यक्रममा सहभागी भई खबरदारी गर्न अनुरोध गरिन्। प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङले प्रदेश सरकारमा युवा रोजगार र उनीहरुको अधिकारलाई प्राथमिकीकरण गर्न आवाज उठाउने बताए।
जिल्ला युवा परिषद्का अध्यक्ष शशिनाथ आचार्यले युवाको मागलाई सरकारले सम्बोधन गर्न नसकेको दाबी गरे। स्थानीय तहदेखि नै युवा परिषद् गठन गरी दबाब दिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।