नारायणपुर– ‘वनराजा’ र ‘वनकरीया’ जस्ता नामले समेत चिनिने कुसुन्डा समुदायको आफ्नै भाषा छ। यो भाषा अहिले लोप हुने खतरामा छ। भाषा लोप हुन थालेपछि कुसुन्डा समुदाय चिन्तित छ।
सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन्। ८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डा र ४२ वर्षीया कमला कुसुन्डा मात्रै भाषाका पूर्ण वक्ता हुन्। दाङको कुलमोडमा बस्दै आएकी ज्ञानीमैयाँ र मसोट खोला बस्दै आएकी कमला कुसुन्डा भाषाको एक मात्र स्रोत हुन्।
'थोरै धेरै बोल्नेहरू छन, तर कुसुन्डा भाषाको विज्ञको रुपमा सिङ्गो समुदायका दुई जना महिलाहरु मात्र हुन्', कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए, 'अलि अलि यो भाषा जान्नेहरु पनि दैनिक बोल्दैनन्, आवश्यक परे बोल्ने हो, बोल्ने अवसर पनि हुँदैन, किनकि यो भाषा अरुले बुझ्नै सक्दैन।'
यो भाषा जान्ने व्यक्ति घट्दै जानु र नयाँ युवा पुस्ताले सिक्न नसक्नुको साथै सिक्ने वातावरण नहुँदा यो भाषा अहिले सङ्कटमा परेको छ। 'देशभर १५/२० घरधुरी कुसुन्डा छन्, उनीहरू फरक फरक स्थानमा बस्ने भएका कारण भाषा संरक्षणमा समस्या भएको छ', अध्यक्ष धनबहादुरले भने।
सरकारले आफूहरूलाई एकै स्थानमा बस्ने वातावरण मिलाए कुसुन्डा समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण हुने कुसुन्डा समुदायका जानकार उदयराज आलेले बताए। 'यो भाषा केही महीना सिकेर हुँदैन, धेरै कठिन भाषाको रुपमा कुसुन्डा भाषालाई लिने गरिएको छ', उनले भने, 'यो भाषाका लागि सधैँ बोल्ने र अभ्यास चाहिन्छ।'
जङ्गलमा बाबुआमाबाट सिकेको भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेपछि भाषा नै सङ्कटमा परेको अनुसन्धानकर्मी आलेले बताए। कुसुन्डाहरु गाउँमा बसेपछि नेपाली भाषा नै बोल्न थाले। पहिले भाषाको महत्व थाहा भएन, जति बेला थाहा भयो, अहिले ढिलो भैसक्यो, कुसुन्डा भाषामा कसैले चासो दिएन। समुदायमा यो भाषा जतिले जानेका छन्, त्यसैमा सीमित भएको छ।
कुसुन्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २ सय ७३ कुसुन्डा छन्। ज्ञानीमैयाँलाई भाषा लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता छ। 'हामी त अब मर्ने बेला भैसक्यो, हाम्रो समयपछि यो भाषा जान्ने कोही छैनन्, नयाँ केटाकेटी सिक्नै मान्दैनन्', ज्ञानीमैयाँ भन्छन्, 'सबैले यो भाषा सिके हुन्थ्यो, ठाउँठाउँमा मलाई बोलाउनुहुन्छ, जान्छु, अहिले सबैले चासो त दिनुभएको छ तर सिक्ने काम भएको छैन।'
कहिल्यै नसुनेका शब्दलाई कण्ठस्थ पार्नुपर्ने र कठिन भाषा दैनिक रुपमा बोलचाल नहुने भएपछि सिक्नेहरुलाई समेत समस्या भएको ज्ञानीमैया बताउँछन् भाषा कठिन भए पनि आफ्नो भाषा सिक्नैपर्ने बाध्यता रहेको समाजका अध्यक्ष धनबहादुरले बताए। 'जातिको पहिचान बचाउनका लागि पनि कुसुन्डा भाषा सिक्नैपर्ने बाध्यतामा छौँ, धनबहादुरले भने, ‘भाषा हरायो भने कुसुन्डा जातिको संस्कृति र पहिचान नै हराउने खतरा छ।'
समुदाय आफैं लोपोन्मुख अवस्थामा रहेकाले समुदायको भाषा लोप हुने अन्तिम खतरामा रहेको कुसुन्डा भाषाको अनुसन्धानकर्ता तथा साहित्यकार टीकाराम उदासीले बताए। उनले भने, 'कुनै पनि भाषासँग नमिल्ने भएका कारण पनि यो भाषा सिक्न धेरै गाह्रो छ।'
केही अनुसन्धानकर्ताले शब्द, अर्थ र भाषाको विषयमा पुस्तक भने प्रकाशन गरेका छन्। लोपोन्मुख कुसुन्डा जाति जङ्गलको फिरन्ते जीवनबाट रूपान्तरित हुँदै सामाजिक रुपमा बस्दै आएको छ। उनीहरू जङ्गलमा बस्दा आफ्नै जीवनशैली र भाषा थियो। गाउँमा बस्दा आपसमा समन्वय र भेटघाट नहुँदा भाषा, संस्कृति संरक्षण हुन नसकेको विज्ञ बताउँछन्।
भाषा संरक्षणमा चासो
लोपोन्मुख कुसुन्डा जातिको भाषा संरक्षणका लागि सरकारी तथा व्यक्तिगत प्रयास पनि भएका छन्। कुसुन्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तक प्रकाशित छन्। देशविदेशबाट आएका व्यक्तिले समेत यो भाषाको अध्ययन गर्दै आएका छन्।
कुसुन्डा जातिको शब्दकोष तयार पारेर अनुसन्धानकर्मी आलेले ‘कुसुन्डा जाति र शब्दकोष’ प्रकाशन गरेका छन्। आलेले ५ वर्षको अध्ययनअनुसन्धानबाट पुस्तक तयार पारिएको बताए। कुसुन्डा समुदायको भाषासंस्कृतिको संरक्षणमा व्यक्तिगत रुपमा अनुसन्धान गरेर लेखिएको पुस्तक थप अध्ययनअनुसन्धानका लागि विद्यार्थीका लागि सहज हुने उद्देश्यले प्रकाशन गरिएको लेखक आलेले बताए।
लोप हुन लागेको कुसुन्डा भाषा बचाउन भाषा आयोग नेपालले समेत चासो दिएको छ। उसले कुसुन्डा भाषालाई बचाउनका लागि दाङको लमहीमा गत पुसमा कुसुन्डा भाषाको कक्षासमेत सञ्चालन गरेको थियो।
सबै कुसुन्डासम्म भाषा पुर्याउने उद्देश्यले सञ्चालित कक्षामा कुसुन्डा समुदायका २० महिला पुरुष दाङ जिल्लाका साथै प्युठान र सुर्खेतबाट समेत सहभागी भएका थिए।
नेपालमा बोलिने १२३ भाषामध्ये ३७ भाषा संरक्षण गर्नुपर्ने अवस्थामा छन् भने तीन भाषा लोपोन्मुख छन्। सङ्कटमा रहेका दुरा, तिलुङ र कुसुन्डा भाषाको संरक्षणका लागि कक्षा सञ्चालन भएको आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।