काठमाडाैं- सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय आवास कम्पनीलाई स्वायत्त रुपमा काम कारबाही अघि बढाउन निर्देशन दिए।
राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३०औं वार्षिकोत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै मन्त्री राईले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए।
उनले कम्पनी स्वायत्त निकाय भएकाले राय सुझाव लिई आवश्यक पर्दा आफैंले निर्णय गरेर अघि बढ्न सक्ने स्पष्ट पारे। उनले स्थानीय तहले आवास निर्माणको लागी जग्गा उपलब्ध गराउने भएपनि त्यही बहाना वा स्थानीय सरकारको हैसियतमा जथाभावी रुपमा गरिने आग्रह पुर्वाग्रहमा नपरी कम्पनीले सामूहिक र राष्ट्रिय हितको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्रालयले जग्गासम्बन्धी विनियमावलि सम्बन्धी निकायमा पठाइसकेको उल्लेख गर्दै उनले जग्गाको वर्गिकरण र आवास निर्माण लगायतका काम गर्दा विनियमावलिको सीमा र दायरामा रही काम गर्न पनि सचेत गराए।
मन्त्री राईले आवास निर्माणको दर बढाउँदै गर्दा गरिबी अर्थात् आवास विहीनको संख्या पनि घट्दै जानुपर्ने भन्दै आफ्ना कार्यक्रम तथा योजनालाई उपलब्धिमूलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
दैवीप्रकोपपीडित अथवा आश्रय विहीन परिवारका लागि राज्यका विभिन्न भागहरुमा सम्बन्धित निकायबाट साधन लिई आवासको व्यवस्था गर्दै आएको राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई जग्गा उपलब्ध गराउने सवालमा स्थानीय तहबीच समस्या देखिदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।