काठमाडौं– मानव तस्करले विभिन्न प्रलोभन देखाएर भारत हुँदै तेस्रो मुलक लैजान लागिएका १ सय ७९ महिलालाई काठमाडौं ल्याइएको छ।
भारतको मणिपुर हुँदै बर्मा र बर्माबाट अन्य देशतर्फ वैदेशिक रोजगारीका नाममा बेचबिखन गर्ने उद्देश्यले विभिन्न मितिमा नेपालबाट भारत, मणिपुरका विभिन्न स्थान पुगेका ३२ पुरुष र १ सय ४७ महिला गरी १ सय ७९ नेपाली नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याइएको हो।
भारत सरकार तथा स्थानीय संघसंस्था, दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उद्दार गरी नेपाल प्रहरीले मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै बुधबार काठमाडौं ल्याएको हो।
उक्त कार्यमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र माइती नेपाल, साथी, पौरखी नेपाल, शक्ति समूह लगायतका संघसंस्थाहरुले आवश्यक सहयोग गर्नुका साथै अस्थायीरुपमा खाने-बस्ने सुविधा समेत प्रदान गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।