काठमाडाैं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा सञ्चालित कार्यक्रमहरुबाट वास्तविक किसानले भन्दा विचौलियाहरुले लाभ लिइरहेको बताएका छन्।
कृषि पत्रकार प्रतिष्ठान 'जोना'को नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाइ तथा शुभकामना दिँदै मन्त्री खनालले परिश्रम र लगानीबिना नै कृषि क्षेत्रका विचौलियाहरुले लाभ लिइरहेको बताएका हुन्। उनले कृषि मन्त्रालयका कार्यक्रमहरु पनि वास्तविक किसानको हितमा हुन नसकेको स्विकारे।
मन्त्री खनालले ओझेलमा परेको क्षेत्रको रुपमा कृषि क्षेत्र देखिए पनि यसको विकास र प्रवर्द्धनबाट सरकार पछि हट्न नसक्ने बताए। कम महत्व र ओझेलमा परेको कृषि क्षेत्र र किसानको पक्षमा अभियान चलाउनु सानो विषय नभएको भन्दै उनले कृषि पत्रकारहरुलाई सफलताको शुभकामना दिए।
मन्त्री खनालले पछिल्लो समय सञ्चार माध्यमहरुले कृषिका विषयलाई प्राथमिकता दिने गरेकोमा खुसी व्यक्त गरे।
गोविन्द शर्माको नेतृत्वमा निर्वाचित १३ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।