महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहामा रहेको अनुपम एजुकेसनल एकेडमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन्।
४६ वर्षीया चम्फा विष्टले विद्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा ४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। विद्यालयको कार्यालय कक्षमा राखिएका दुई थान कम्प्युटर, प्रिन्टर, दराज, ल्यापटप, साउण्ड सिस्टम, खेलकूदका सामग्री, प्रयोगशालाका सामग्री, कुर्सी र टेबल तोडफोड गरेको विद्यालय सञ्चालक मदनराज जोशीले बताए।
महिलाले विद्यालय रहेको जग्गा मेरो रहेको भन्दै कार्यालय कक्षमा छिरेर तोडफोड गरेको जोशीले जानकारी दिए। उनले भने, 'पहिला विद्यालयमा पढ\ने विद्यार्थीको अभिभावक होला भनेर सोचेका थियौं, केही गुनासो राख्न आउनुभएको होला भनेर कुरा सुन्यौं। विद्यालय रहेको जग्गा नै आफ्नो भएको दाबी गर्दै तोडफोड गर्न थालेपछि प्रहरी बोलाएर नियन्त्रणमा राख्न लगाएका छौं।'
विद्यालयमा तोडफोड गर्ने महिलालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।