जनकपुर- जनकपुरबाट नक्कली चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहका एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका-१ बस्ने प्रिन्स कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुर यातायात व्यवस्था कार्यालयबाट नक्कली लाइसेन्स बनाइदिने गिरोहका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
लाइसेन्स बनाइदिने भनेर रकम असुल गरेकाहरुले सिंहलाई पक्राउ गरी सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइदिएका थिए।
पक्राउ परेका प्रिन्सले चालक अनुमनि पत्र बनाइदिने भन्दै उनीहरुबाट लिएको रकमवापतको नक्कली नगदी रसिद (भरपाइ) दिएर ठगी गरेको ठगीमा परेका युवाहरुले बताए।

ठगीमा परेका युवाहरुका अनुसार यातायात कार्यालय अगाडि बोर्ड झुन्ड्याएर लेखापढी गर्दै आएका प्रिन्सले दिएकाे नगदी रसिदमा यातायात व्यवस्था कार्यालय जनकपुर र विरगञ्ज लेखिएको भएपनि कार्यालयको छाप र हस्ताक्षरबिनाको रहेको छ।
प्रिन्सले जिल्लाको मिथिला नगरपालिका-४, पुष्पवलपुरका १० जनालाई ठगी गरेका थिए। उनीहरुबाट प्रिन्स ४ लाख रुपैयाँभन्दा बढी रकम लिएर बेपता थिए। बेपत्ता भएपछि ती युवाहरुले खोजी गर्दै जाँदा प्रहरीको सहयोगमा उनलाई जनकपुरको क्याम्पस चाेकबाट पक्राउ गरिएकाे हाे।
ठगीमा परेकाहरुले प्रिन्सलाई सम्पर्क गर्न खाेज्दा फोन पनि नउठाउने, कहिले मोबाइलको स्विच अफ गरेर राख्ने, खोज्दा नभेटिएपछि सुराकी गरेर प्रिन्सलाई पक्रेको पीडितमध्येका एक वसन्त मोक्तानले बताए।
उनले चालक अनुमति पत्र बनाइदिने भन्दै पुष्पवलपुर कै श्रवण कुमार सिंहसँग ४० हजार रुपैयाँ लिएका थिए। महिनौसम्म चालक अनुमति पत्र नबनाइदिएपछि रकम फिर्ता माग्दा उनले श्रवणलाई बाउन्स चेक (खातामा पैसा नभएको) दिएका थिए।

ठगमाथि आवश्यक अनुसन्धान तथा कारबाही गरी रकम फिर्ता गराइदिन भनी ती पीडित युवाहरुले मंगलबार जिप्रका धनुषामा लिखित जाहेरी समेत दिएका छन्।
यस विषयमा धनुषाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले प्रिन्सलाई पक्राउ गरिएको तर अनुसन्धान भइरहेकाले विश्वस्त नभइकन केही भन्न नमिल्ने बताए।
यता यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख पवन पजियारसँग सम्पर्क गर्न खोज्दा उनी कार्यालयमा भेटिएनन् र फोन पनि सम्पर्क हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।