काठमाडौं– ट्याक्सीमा छुटेको साढे ३ लाख बराबरको सामान चालकले ट्राफिक प्रहरीलाई बुझाएका छन्।
बा २ ज २२७९ नम्बरको ट्याक्सीमा काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी–३ घर भएकी २८ वर्षीया वसन्ता भुसालले करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल छुटाएकी थिइन्। चालकले प्रहरीलाई ती सामान बुझाएपछि प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिँजडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो।
सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि काठमाडौं भीमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३८ वर्षीय ट्याक्सी चालक सिमल राईले इमानदारीपूर्वक महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सामान बुझाएका थिए। प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।