विर्तामोड- झापाको विर्तामोडमा प्रहरीको गोली लागी आज एक जनाको मृत्यु भएको छ।
कर्फ्यु उल्लंघन गरी प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो। सो क्रममा अर्जुनधाराका नरेश थापाको मृत्यु भएको हो। मुक्ति चोक नजिक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। स्थानीय तोडफोडमा उत्रिएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
हाल स्थिति साम्य पार्न सर्वदलीय बैठक बसिरहेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले नेपाल लाइभलाई बताए।
हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि प्रशासनले आज दिउँसो १:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो। पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा स्थानीयले आज बिहानैदेखि प्रदर्शन गरेका थिए। दशैंको टीकाको दिन बेपत्ता भएका बालकको शव भोलिपल्ट विर्तामोड– १ बैसाबाडीस्थित झाडीमा फेला परेको थियो।
विर्तामोडको अवस्था अहिले तनावपूर्ण बनेको छ।
यो पनि: प्रहरी र प्रदर्शनकारीबीच झपड, झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यु [फोटो र भिडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।