काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका ८ वटा जहाज 'ग्राउन्डेड' भएका छन्। ४ वटा वाई १२, दुई वाट एमए ६०, एउटा ट्विनअटर र एउटा बोइङ ७५७ जहाज ग्राउन्डेड भएको हो। यी जहाजमध्ये ७ वटाले आन्तरिक र एउटाले अन्तर्राष्ट्रिय उडान भर्दै आएका थिए।
चार वटा वाई १२ पाइलट अभावका कारण ग्राउन्डेड भएका हुन्। निगमले वाई १२ जहाज उडान गरिरहेका उद्धव घिमिरेलाई ए३२० जहाजको उडान तालिममा पठाएसँगै ४ वटै वाई १२ ग्राउन्डेड भएका हुन्। निगमका अध्यक्ष मदन खरेलले घिमिरेलाई उडान प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारैवटा चिनियाँ जहाज वाई–१२ ग्राउन्डेड भएको हो।
सिनियर पाइलट सञ्जय बादे र नेपेन्द्र भट्टराईले आफूभन्दा जुनियर पाइलटलाई ए–३२० को प्रशिक्षणमा पठाएको भन्दै बिरामी बिदामा बसेपछि ४ वटै जहाज ग्राउन्डेड छन्।
बादे र भट्टराई बिरामी बिदामा बसे भने अर्का पाइलट आङ नुरी शेर्पाको पिपिसी (सिप परीक्षण प्रमाणपत्र) को म्याद सकिएपछि जहाज उडान गर्न पाएका छैनन्।
यसैगरी एउटा एमए ६० को पार्टपूर्जा अभावमा मर्मत हुने सकेको छैन। अर्को एमए ६० मर्मतपछि आजमात्रै परीक्षण उडान गर्ने तयारी भएको छ। यसैगरी एउटा ट्विनअटर जहाज भने लामो समयदेखि ग्राउन्डेड छ।
अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको बोइङ पनि २६ दिनदेखि ग्राउन्डेड छ। बोइङ उडानका लागि योग्य भए पनि पाइलटको पिपीसी नवीकरण नहुँदा जहाज ग्राउन्डेड भएको छ।
निगमले अहिले आन्तरिक उडानका दुई वटा ट्विवनअटर र अन्तर्राष्ट्रिय उडानमा दुई वटा वाइडबडी, दुई वटा न्यारोबडी जहाजमार्फत उडान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।