एजेन्सी– भारतको उडिसा राज्यका टाउको जोडिएका जुम्ल्याहा बालकको सफल शल्यक्रिया गरिएको छ।
नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का चिकित्सक टोलीले शल्यक्रिया गरी टाउको छुट्याएका छन् । एम्सका ३० जना चिकित्सकले १६ घन्टा लगाएर शल्यक्रिया गरेका थिए।
शल्यक्रियापछि जग्गा र कलिया दुवै बालकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले विज्ञप्तिमा जनाएको छ।
एम्सका अनुसार, चिकित्सकहरूले टाउको छुट्याउने शल्यक्रिया गत बुधबार बिहान ६ बजे सुरु गरेका थिए । त्यसका लागि २० शल्य चिकित्सक र १० एनेस्थेसिया विशेषज्ञसहित ३० जना खटिएका थिए।
‘दुवै बालकको मस्तिष्क आपसमा जोडिएका थिए र मस्तिष्कका नसासमेत जोडिएका थिए’, शल्यक्रिया टोलीमा रहेका न्युरो सर्जन दीपक गुप्ताले भने, ‘रक्तसञ्चार एउटै भएकाले एउटाको फ्लुइड (तरल पदार्थ) अर्कोमा गइरहेको थियो । यसैले पहिले रक्त सञ्चार प्रणाली नै छुट्याउनु आवश्यक थियो।’
डा गुप्ताका अनुसार, शल्यक्रियाका दौरान एक जनाको हार्ट फेल हुने स्थिति आएको थियो भने अर्कोको मिर्गौलामा असर परिरहेको थियो । उनले जुम्ल्याहाको टाउको छुट्याउन मुटुको बाइपास सर्जरी गरे जस्तै मस्तिष्कको पनि बाइपास सर्जरी गरेको बताए।
शल्यक्रिया सफल भए पनि दुवै बालकको स्वास्थ्य स्थितिबारे अहिले नै केही भन्न नसकिने उनले बताए।
डा गुप्ताले भनेका छन्, ‘सामान्य अवस्थामा आउन कम्तीमा पनि दुई–तीन महिना लाग्न सक्छ । शल्यक्रियापछि यस्ता बालकमा हृदयघात हुने, मिर्गौला फेल हुने, मेनेन्जाइटिस हुने वा संक्रमण हुन सक्ने सम्भावना रहन्छ । उनीहरूको स्वास्थ्य स्थिति निरन्तर अनुगमन गरिरहेका छौं।’
जुम्ल्याहा बालकहरु उडिसाको कन्धमाल जिल्लास्थित मिलिपाडा गाउँका भुइया कहार र पुष्पाञ्जलीका सन्तान हुन् । कहार परिवारले सुरुमा कटकस्थित एससिबी मेडिकल कलेजमा उपचार गराउने प्रयास गरे पनि सफल नभएपछि आफ्नै गाउँ फर्केका थिए।
कहार दम्पतीले जुम्ल्याहा छोराको उपचारको आश मारिसकेका बेला सञ्चार माध्यमले उनीहरूबारे समाचार प्रकाशन÷प्रशारण गरेका थिए । यसपछि जिल्ला प्रशासनले नयाँ दिल्लीस्थित एम्समा उपचार गराउने बन्दोबस्त मिलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।