काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न नसकेको आरोप लगाएको छ।
आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको सरकार एउटा गीतले पनि काँपेको आरोप लगाएका हुन्।
‘कति बलियो होला दुई तिहाईको सरकार, एउटा गीतले पनि थरर काप्ने?,’ शर्माले प्रश्न गरे।
प्रवक्ता शर्माले अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि सरकार गम्भीर नरहेको आरोप लगाएका थिए।
‘सरकार आफैंले कही हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउन चेतावनी दियो,’ उनले भने, ‘मेरो आशय आरोप बिल्कुल होइन। एउटा गायकले गीत प्रस्तुत गर्दैगर्दा आलोचित या प्रशंसित हुन पाउने गायकको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन।’
लोकदोहारी गायक पुशपति शर्माले हालै सार्वजनिक गरेको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका शब्दका कारण सरकार पक्षीय नेता, कार्यकर्ता र युवा संघले गीतमा प्रतिबन्ध लगाउन माग गरेका थिए।
सरकारी पक्षको दबाबका कारण गायक शर्माले शनिबार साँझ आफ्नो गीत युट्युबबाट हटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।