काठमाडौं- एयर एसियाको उडान अनुमति पत्र निलम्बन तथा खारेज गरी पर्यटन सेवाशुल्क वापतको सवा ९ करोड रुपैयाँ असुलीमा सहयोग गरिदिन नेपाल पर्यटन बोर्डले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।
नेपाल पर्यटन बोर्ड नियमावली, २०५५ को नियम ७ (२) र (३) का साथै पर्यटन सेवाशुल्क तथा संकलन कार्यविधि २०६६ को दफा ८(२) अनुसार बोर्डले एयर एसियाबाट प्राप्त गर्नुपर्ने रकम असुलीका लागि सहयोग गरिदिन बोर्डले प्राधिकरणलाई पत्र काटेको हो।
मलेसियाली निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाले नेपालबाट बाहिरिएका पर्यटकसँग संकलन गरेको सेवाशुल्क वापतको ९ करोड रुपैयाँभन्दा बढी रकम असुलीका लागि बोर्डले गत माघ १० गते प्राधिकरणलाई पत्र काटेको हो।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ तथा नेपाल पर्यटन बोर्ड (दोस्रो संशोधन) नियमावली, २०५५ र सोका आधारमा बनेको कार्यविधिअनुसार नेपाल बाहिर प्रस्थान गर्ने विदेशी यात्रुबाट करबाहेक संकलन गरेको रकम असुलीका लागि बोर्डले प्राधिकरणसमक्ष सहयोग मागेको हो।
गत असोज २७ गतेदेखि नेपालमा उडान बन्द गरेको एयर एसियाले अझै पनि नेपाल पर्यटन बोर्डलाई ९ करोड २३ लाख ४५ हजार ४ सय ७४ रुपैयाँ तिर्न बाँकी छ। सोही रकम असुलीका लागि कानुनी उपचारमा सहयोग माग्दै पत्र काटेको हो।
एयर एसियाको काठमाडौंस्थित जिएसए इन्सेन्टिभ टुर्स एन्ड ट्राभल प्रालिलाई २०७० माघ २४ गते, फागुन ११, २०७३ असार ३२ र २०७४ मंसिर ६ गते पर्यटन सेवाशूल्क वापतको रकम भुक्तानी गर्न बारम्बार पत्राचार गरेपनि रकम असुली हुन नसकेको भन्दै सहयोग माग गरेको पत्रमा उल्लेख छ।
यस अवधिमा इन्सेन्टिभले जम्मा २ करोड ७१ लाख २० हजार ७ सय ४६ रुपैयाँ मात्रै तिरेको छ। तर बाँकी बक्यौताका लागि एयर एसियाको जिएसएसँग बारम्बार ताकेता गर्दापनि रकम असुली हुन नसकेको व्यहोरा उल्लेख गर्दै प्राधिकरणलाई पत्र काटेको हो।
त्यसपछि बोर्डले एयर एसियाको नेपाल उडान बन्द गर्ने औपचारिक रूपमा नै घोषणा गरेलगत्तै २०७५ भदौ ८ गते र २०७३ कात्तिक १३ गते रकम असुलीका लागि सहयोग माग्दै प्राधिकरणमा पत्राचार गरेको जानकारी दिएको छ।
यस्तो अवस्थामा पर्यटन सेवाशुल्क असुली तथा संकलन कार्यविधिले दिएका कानुनी अधिकार प्रयोग गर्दै अनुमति खारेज गरी रकम संकलनमा सहयोग गरिदिन आग्रहसहित पत्र लेखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।