काठमाडौं- त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटरलगायतका विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ।
आइतबार कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो। सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा. सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना टार्ने वा थोरै खर्चमा क्यान्सर उपचारमा सहयोग गर्ने कार्यमा केन्द्रित संस्था विशुद्ध गैर-नाफामूलक रहेको बताइन्।
उनले आर्थिक स्रोतको अभावले लक्ष्यअनुसार अघि बढ्न संस्थालाई कठिन भएको समेत बताएकी थिइन्।
त्रिकोणका प्रबन्ध निर्देशक अर्यालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी काम गर्ने व्यापारिक प्रतिष्ठानसँग फाउन्डेसनलाई सहयोग गर्न अपिल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।