काठमाडौं– नेपाली कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको आइतबारको बैठक पनि बहिष्कार गरेकाे छ।
माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति आपत्ति जनाउँदै समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सदस्यहरू उपस्थित नभएका हुन्।
दुई साता अघि बसेको सुनुवाइ समितिको बैठकलाई पनि कांग्रेसले बहिष्कार गरेको थियो। संवैधानिक परिषद्को बैठकका निर्णयप्रति कांग्रेसको विरोध रहेकाले उपस्थित नभएको कांग्रेस सांसद पुष्पा भुसालले बताइन्।
परिषद्को निर्णय प्रक्रियामा असहमति रहेकाले लिखित रुपमा उपस्थित नहुने जानकारी अघिल्लो बैठकमै पेस गरेको उनले प्रष्ट पारिन्। अब हुने बैठकमा पनि सहभागी नहुने कांग्रेसले जनाएको छ।
पाैडेल र सुवेदीकाे सुनुवाइ मंगलबार
यसैबीच संसदीय सुनुवाइ विशेष समितिकाे बैठकले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ फागुन ७ गते मंगलबार गर्ने भएको छ।
बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीको सुनुवाइ फागुन ७ गते दिउँसो १२ बजे गर्ने निर्णय गरेको हो।
संवैधानिक परिषद्ले गरेका विभिन्न ५ वटा आयोगका पदाधिकारीमाथि एउटा मात्रै उजुरी समितिमा परेको छ। राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि मात्रै एउटा उजुरी परेको पाइएकाले त्यसको अध्ययन गरी उजुरीकर्तामाथि पनि फागुन ७ गते नै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।
तर, विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले गरेको सो निर्णयप्रति असहमति जनाउँदै कांग्रेसले पनि उनीहरुमाथिको संसदीय सुनुवाइ प्रक्रिया नै बहिष्कार गरेको थियाे।
सुनुवाइ समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ सांसद छन्। १५ सदस्यीय समितिको अर्को बैठक मंगलबार बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।