जनकपुर- नेपाली कांग्रेसको अवरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ। अधिवेशनको दैनिक कार्यसूची अनुसार शनिबार बसेको ४८औं बैठक सुरु भएको पाँच मिनेट नबित्दै काँग्रेस सांसदको अवरोधपछि बैठक स्थगित भएको हो।
बैठक सुरु भएपछि कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोक्दै बोल्ने समय मागेपछि उनलाई बोल्न सभामुख सरोजकुमार यादवले समय दिएका थिए। वीरगञ्जमा बिपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश सरकारले जबरजस्ती सहिद पार्क बनाउन लागेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको हो।
‘एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन्न’, उनले भने, ‘त्यसैले प्रदेश सरकारको सहिद पार्क बनाउने कार्यक्रम फिर्ता लिनुपर्छ।’
सचेतकको विरोधपछि कांग्रेसका सबै सांसद्ले उभिएर सदन अवरुद्ध गरे। सभामुख यादवले यस विषयमा सरकारले जवाफ दिने आश्वासन दिएपनि कांग्रेसले वरोध जारी राखेपछि प्रदेशसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको हो।
२०६० सालमा वीरगञ्ज महानगरपालिकाले बिपी उद्यान बनाउन जग्गा छुट्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।