काठमाडौं– केही वर्षदेखि आयोजना हुँदै आएको 'कला साहित्य उत्सव'को चौथो शृंखला फागुन १८ देखि सुरु हुने भएको छ।
तीन दिनसम्म चल्ने सो कार्यक्रम झापाको काँकरभिट्टामा सम्पन्न हुने आयोजक रिडर्स झापाले जनाएको छ। यो कार्यक्रम दुई वर्षको अन्तरालमा सम्पन्न हुँदै आएको छ।
'कला साहित्य उत्सव २०७५ चौथो शृङ्खला हो। यस पटक पनि अघिल्ला उत्सवहरु जस्तै कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरण जस्ता विषयमा विमर्श गरिनेछन्', जारी विज्ञप्तिमा भनिएको छ, 'लेखक, चिन्तक, अध्येता एवम् विषय–विज्ञता हासिल गरेका मानिसहरुलाई विविध शीर्षकमा बहसका लागि सहभागी गराइने छ।'
'कार्यक्रम केवल लेखक, साहित्यकारका लागि होइन। साहित्यिक अध्ययन र साहित्यिक कर्म गरिरहेका तथा सार्वजनिक रुपमा बहसमा आएका विभिन्न विषयमा रुचि हुने सबैका लागि यो कार्यक्रम आयोजना गरिएको ह', विज्ञप्तिमा भनिएको छ।
पठन संस्कृति विकास गर्न, लेखनमा रुचि जगाउन एवम् बौद्धिक विकासमा सहयोग हुने कार्यक्रमहरु गरिने आयोजकले बताएको छ।
नेपालमा समृद्धिबारे बहस भइरहेको र त्यसका प्रति राष्ट्रिय प्रतिबद्धता बारम्बार व्यक्त भइरहेको अवस्थामा समृद्धिको कोसिसलाई फलदायी, न्यायपूर्ण एवम् सबै नागरिकको हितमा हुने गरी सफल बनाउन सार्वजनिक विमर्श आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ। 'समृद्धि असमानताको खाडल बढाउने अभियान होइन, समतामूलक समाज निर्माणको जग बनोस् भन्ने हेतुले स्वतन्त्र चिन्तन् र सार्वजनिक विमर्श अत्यावश्यक छन्', विज्ञप्तिमा भनिएको छ।
कला साहित्य उत्सव २०७५ का लागि तय गरिएका विषय पनि सार्वजनिक गरिएको छ–
क) साहित्यको दलन
ख) अभिब्यक्ति र बहिष्करण
ग) समकालीन आख्यानमा वर्ग चेतना
घ) काव्यमा विद्रोह
ङ) विश्व विद्यालयको पुनर्संरचना
च) समाज बिज्ञान र मानवीकिको सङ्कट
छ) सांस्कृतिक राष्ट्रवाद
ज) दक्षिण पन्थको सांस्कृतिक जग
झ) सत्ता र लेखक
ञ) दलालीको दलदल
ट) आर्थिक समृद्धिका सङ्कट
ठ) पर्यावरणको खबर
ड) समाचार, झुटा समाचार, खरिद समाचार
ढ) नेपालका भूराजनीतिक पहेली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।