काठमाडौं– कुनै समय नेपाली फिल्म क्षेत्रमा एकलौटी राज गरेकी ‘ब्युटी क्विन’ अर्थात् निरुता सिंह पुनः नेपाली सिने नगरीमा सक्रिय बन्न थालेकी छन्। नेपाली फिल्म बजारमा झन्डै एक दशक राज गरेकी निरुता करिब दशकअघिबाट गुमनाम थिइन्।
गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल-५’मा उनको 'गेस्ट अपिरियन्स' दर्शकका लागि उपहार बन्यो। त्यसपछि नेपाली फिल्म निर्माता/निर्देशकका लागि निरुता खोजीकी पात्र बन्न थालिन्।
निरुताले फिल्म ‘नाइ नभन्नु ल-५’ पछि अन्य दुई ठुला ब्यानरका फिल्म ‘दालभात तरकारी’ र ‘क्याप्टेन’मा अभिनय गरिसकेकी छन्। यसै सन्दर्भमा शुक्रबार एक कार्यक्रमका बीच फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। जहाँ निरुता पूराना अभिनेता भुवन केसी र भुवनकै छोरा अनमोल केसीसँग एकसाथ नृत्य गर्दै देखिएकी छन्।
फिल्म क्याप्टेनमा निरुताको गेष्ट अपिरियन्स देख्न सकिने छ।
फिल्ममा दुई पुस्ताका स्टार अभिनेता भुवन र अनमोलसँग आफूले अभिनय गर्न पाएकोमा निरुता भने मख्ख छिन्।

उनले फिल्मको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा भनिन्, ‘भुवन दाई र अनमोललाई धेरै धन्यवाद दिन चाहान्छु, मलाई अभिनयका लागि सम्झिदिनुभएकोमा। अर्को कुरा यत्रो वर्षपछि भुवन र अनमोल जस्ता स्टारहरूसँग काम गर्ने मौका पाएँ। फिल्म युनिटलाई धेरै धन्यवाद।’
कार्यक्रममा बोल्दै उनले थपिन्, ‘हाम्रो गीत र अभिनय दर्शकलाई पक्कै मन पर्नेछ। यदि मन नपरे हामीले गरेको अर्को एउटा भूल स्वीकार गरी माया गरिदिनु हुनेछ भन्ने विश्वास लिएकी छु।’
फिल्मी करियरलाई फर्केर हेर्ने हो भने निरुताले दक्षिणा, दपर्ण छाँया, माइतीजस्ता थुप्रै सुपरहिट नेपाली फिल्म दर्शकमाझ पस्किसकेकी छन्।
विशेषगरी, उतिबेला दर्शकका नजरमा अभिनेता दीलिप रायमाझीसँग स्क्रिन सेयरमा रुचाइएकी निरुता फिल्म क्याप्टेनपछि हास्य कलाकार हरिवंश आचार्यकी श्रीमतीका रूपमा फिल्म ‘दालभात तरकारी’मा देखिने छिन्।
अभिनय यात्रामा एक दशकको विश्राम लिएकी निरुता उमेरले ४५औं बसन्त पार गरेकी छन्। तरपनि निरुताको अभिनय गर्ने चाहना र उत्सुक्ता भने अझै डेब्यु झैं लाग्ने केही कलाकारहरू बताउँछन्।
फिल्म सम्बन्धी आयोजना हुने विभिन्न कार्यक्रममा उनको उपस्थिति र हाउभाउले पनि उनको अभियन उर्जाशील झल्कने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।