चितवन- हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले आसपासका बस्तीमा सताउँदै आएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ। धान लगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति पुर्याबउँदै आएको छ।
कँडेलका अनुसार राँको बालेर लखेट्दै जाने, छर्रा हान्ने, भाला हान्ने, होहल्ला गर्ने, निकुञ्जसँगै जोडेर छिरोलिएर बस्ती बस्ने, रात बिहानको समयमा एक्लै जंगलमा हिँड्नेजस्ता कार्य गर्दा हात्तीले आक्रमण गर्ने गरेको पाइन्छ। हात्तीलाई नजिस्काएर छाड्दा धान लगायतका बाली खाने भएपनि अन्य क्षति नहुने हुँदा नजिस्काउन र उत्तेजित नपार्न उनले आग्रह गरे।
जंगली हात्तीले निकुञ्ज जोडिएका नवलपरासीको नन्दपुर, सेरे, तमासपुर, चितवनको मेघौली, सौराहा, माडीको अयोध्यापुरी, गर्दी, सौराहाको हात्ती प्रजनन केन्द्र लगायतका क्षेत्रमा दुःख दिँदै आएको छ। एउटा दुइटा हुँदै बथानमा भाले जंगली हात्ती गाउँ पस्ने गरेका छन्।
बाली नाश गरेमा क्षतिपूर्ति दिने व्यवस्था भएकाले हात्तीलाई नजिस्काएमा जनधनको कम क्षति हुने कँडेल बताउँछन्। निकुञ्जभित्र हिउँदमा पानी र घाँसको अभाव भएसँगै जंगली हात्ती बस्ती पस्ने गर्दछ।
निकुञ्ज आसपासका खरले छाएका झुप्रामा हात्तीले बढी आक्रमण गर्ने गर्दछ। ती घरमा राखिएका नुन, मसला, तेल र धान हात्तीले खाने गर्दछ। सँगै हात्तीको सबैभन्दा बढी रोजाइ स्थानीय मदिरा हुने भएकाले त्यसको खोजीमा पनि हात्तीले मानिसलाई दुःख दिँदै आएको छ। निकुञ्ज आसपासमा एकीकृत बस्ती निर्माण गर्नसकेमा हात्तीको आक्रमण कम हुने पनि कँडेलले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।