नैरोबी- केन्यामा बिहीबार पुन: भएको राष्ट्रपतीय निर्वाचनका क्रममा तीन जनाको मृत्यु भएको छ।
निर्वाचन बहिष्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतले जनाएका छन्।
मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टि गरे।
प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ। यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो।
निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ। अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन्।
निर्धारित समयमै होला नहोला भन्ने आशंकाकाबीच बिहीबार केन्यामा दोहोर्याएर राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको हो। विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिष्कार गरेकाले यसको वैधतामा भने धेरैको चासो कायमै रहेको छ।
विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै बहिष्कार गरेको बताउँदै आएका छन्।
केन्यामा केही महिनाअघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरि निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन भएको हो। त्यतिबेलाको निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुनः निर्वाचित भएको घोषणा गरिएको थियो।
आठ जना उम्मेद्वार मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक पुनः चुनिने पक्का देखिएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।