काठमाडौं– आगामी चैत अन्तिम साता वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिता हुनेछ। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आगामी चैत २२ देखि ३० गतेसम्म डब्लुसिएल गर्ने घोषणा गरेको हो।
क्विन्स इभेन्टले यसअघि गत कात्तिकमा पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। अब नेपालमा पुरुष क्रिकेट मात्र नभई महिला क्रिकेट खेलको विकासमा पनि सहयोग पुर्याउन महिला टी–२० लिग आयोजना गर्न लागिएको क्विन्स इभेन्टसका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए।
प्रतियोगितामा ५ सहरका ५ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ। खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। पाँच टिमले खेलाडी आवद्ध गर्ने प्रक्रियाको विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ। 'हामी खेलाडी अक्सनबाट वा ड्राफ्ट लिने विषयमा छलफल गरिरहेका छौं,' लामाले भने। लिगमा नेपाली खेलाडीको मात्र सहभागिता रहनेछ। यस्तै टिममा मार्की खेलाडी र आबद्ध हुने अन्य खेलाडीले निश्चित रकम पाउनेछन्।

डब्लुसिएलको घोषणा कार्यक्रममा नेपाली सिनियर पुरुष क्रिकेट टिमका प्रशिक्षक जगत टमाले खुसी व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले महिला क्रिकेटको विकासमा ठूलो भूमिका खेल्ने बताए। यस्तै महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दासले यो सुरुवात मात्र भएको बताए। यस्तै लिग भइरहेको अवस्थामा महिला क्रिकेट टिमले विश्वकप खेल्ने विश्वास व्यक्त गरे।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको बताए। यस्तै महिला टिमकी कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको प्रतिक्रिया दिइन्। उनले लिगले महिला टिमलाई एक्सपोजर मिल्ने बताइन्। यस्तै प्रोत्साहन भइरहे नेपाली महिला क्रिकेट टिमका लागि विश्वकप टाढा नभएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।