काठमाडौं- नेपालको संविधान अनुकुल बनाउन 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५' लाई प्रतिनिधिसभाले संसोधनसहित पारित गरेको छ।
मंगलबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित गरेको हो। सांसद प्रेम सुवालले मात्रै विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए।
यसअघि कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले केही नेपाल ऐन संसोधन गर्ने विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०७५ प्रस्तुत गरेका थिए।
समितिले गरेको संसोधन प्रस्तावसहित विधेयक पारित भएको हो। समितिले प्रस्ताव गरेको १ देखि ३ सम्मको संशोधनलाई प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो।
बैठकले विभिन्न ३ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा समेत पठाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट कानुनमन्त्री ढकालले कर्मचारी समायोजन विधेयक २०७५ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ढकालले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समतिमा पठाईयोस् भनी गरेको प्रस्तावसमेत बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
त्यसैगरी भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भू-उपयोग विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी गरेको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा अर्थसमितिले लेखा परीक्षण विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०७५ र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले जीवनाशक विषादी विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०७५ प्रस्तुत भएको छ। समितिका सभापतिले आ-आफ्नो समितिको प्रतिवेदनसभा समक्ष पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।