काठमाडौं- नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ। विमान चालकको अभाव र मर्मतका लागि ग्राउन्डेड भएका जहाजलाई एक महिनाभित्र सबै चलाउने तयारी भइरहेको निगमले जनाएको हो।
पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउन्डेड भएका समाचार सञ्चारमाध्यममा आएका थिए।
निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएको जनाउँदै छिट्टै उडान गर्ने तयारीमा रहेको जानकारी दिए।
'वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाउँछौँ, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौं,' उनले भने।
सहायक प्रवक्ता कोइरालाका अनुसार निगमका तीन पाइलटमध्ये दुई जनाले बिरामी बिदा लिएको र एक पाइलट प्रोफिसियन्सी चेक (पिपिसी) का लागि बुधबार चीन जानेछ। फर्केपछि आगामी १५ तारिखदेखि वाई १२ को उडान सुरु गरिनेछ।
पाइलट अभावले वाई १२ का चार वटा जहाज उड्न नसकेको निगमको भनाइ छ।
अहिले तीन वटा ट्वीन अटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ। दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले जनाएको छ।
निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्वीन अटर गरी ९ जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।