काठमाडौं- नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तको पूर्वाधार विकास बैंकलाई वित्तीय कारोबार गर्ने अनुमति प्रदान गरेको छ। राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल पूर्वाधार विकास बैंक लिमिटेडलाई सोमबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले वित्तीय कारोबारको इजाजत दिएका हुन्।
हालै बसेको नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले पूर्वाधार विकास बैंकलाई कारोबार गर्ने अनुमति दिने निर्णय गरेको थियो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंक, बीमा कम्पनी, लघुवित्त, निजी कम्पनी तथा व्यक्तिगत व्यवसायीको संयुक्त लगानीमा बैंक सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार बैंकले जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। ४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब चुक्तापूँजी रहेको यस बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन , सेज, आधुनीकशहरी पूर्वाधार, सूचना प्रविधी लगायत)विकासमा अग्रणी भुमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।
नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकले राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनामा लगानी गर्नेछ। यसका साथै पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्यस्रोत जुटाउने काम यसले गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।