झापा- झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ।
नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिए।
नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ ।
यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ । जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
कार्यालयले टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव दिएको छ भने नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।