बुटवल– प्रदेश ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबारदेखि बुटवल कृषि मेला-२०७५ सुरु भएको छ। मेलमा ४५ जिल्लाका कृषि उपज प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्।
'बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ सुरु भएको बुटबल कृषि मेला माघ २६ गतेसम्म चल्नेछ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए। प्रदेश विकासको पहिलो आधार कृषि र त्यसपछि उद्योग तथा पर्यटन रहेको बताउँदै प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताएका थिए।
मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीकरणका लागि किसानलाई आर्थिक रूपमा सम्पन्न बनाउन जोड दिएका थिए।
प्रदेश ५ की भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले व्यवसायीको संस्था भएर पनि उद्योग वाणिज्य संघले कृषि क्षेत्रमा गरेका कार्यक्रम र मेलाहरु अनुकरणीय रहेको बताईन्।
प्रदेश सरकारले कृषि क्षेत्रमा दिएको अनुदान तथा कृषिको विविधीकरण र व्यवसायीकरणमा भएका पछिल्ला प्रयासका सम्बन्धमा जानकारी लिन किसानलाई उपयुक्त अवसर भएको बताईन्।
मेलामा गाँउका उत्पादनदेखि कृषिका प्रविधिसम्मका गरी एक सय २६ स्टल रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले कृषिलाई उद्योगका रूपमा सरकारले स्वीकार गरी विशेष छुट सहितका कार्यक्रम अघि सार्नु पर्ने बताए। संविधान निर्माण पश्चात् बनेको स्थायी सरकारबाट जनताले आर्थिक रूपान्तरणको ठुलो अपेक्षा गरेको अवस्थामा सरकारले लगानीमैत्री वातावरण श्रृजना गर्नुपर्ने बताएका थिए।
बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले किसानलाई सम्मान गर्ने वातावरण बनाउन उप-महानगरले कृषि मेला आयोजना गर्ने बताए।
२०६२ सालमा पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना नरेका वर्ष कृषि मेला गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।