
काठमाडौं- आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले शुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा चार करोड रकम विनियोजन गरिएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्नका लागि शुरु गरिएको सो कार्यक्रम गत आर्थिक वर्षमा सरकारको प्राथमिकतामा नपरे पनि सोहि आवको चैतबाट पुनः सुरु गरिएको थियो।
स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्याायो झोला वितरण गर्दै आएको छ।
तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापालले आमा र नवजात शिशुको हितको कार्यक्रम भएको भन्दै गत आवको चैत महिनाबाट दुई करोड ५१ लाख विनियोजन गरी बन्द भएको कार्यक्रम पुनः सञ्चालनमा ल्याएका थिए।
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले चालु आवमा चार करोड रुपैयाँ विनियोजन भइ सबै जिल्लामा पठाइसकेको जानकारी दिए।
नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यसाथ सरकारले चार वर्षअघि न्यानो झोला कार्यक्रम सुरु गरेको थियो । शीतांगका कारण हुने नवजात शिशुको मृत्युदर हटाउन प्रभावकारी मानिएको यो कार्यक्रम एकाएक रोकिदाँ त्यसवेला सरकारको सर्वत्र आलोचना पनि भएको थियो।
सरकारले दुई वर्ष लगातार बजेट छुट्याएर बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशु र सुत्केरी आमालाई न्यानो कपडा उपलब्ध गराउँदै आएको छ।
आव २०७०÷७१ बाट शुरु भएको सो कार्यक्रमका लागि त्यस वर्ष रु १९ करोड छुट्याएको थियो भने आव ०७१÷७२ का लागि २१ करोड छुट्याएको थियो । त्यसपछिका आवमा यो कार्यक्रम सञ्चालन गर्न परिवार स्वास्थ्य महाशाखाले बजेट प्रस्ताव नगरेपछि कार्यक्रम नै कटौती भएको थियो । आव २०७३÷७४ को चैतबाट पुनः यो कार्यक्रम लागू गरिएको हो।
सरकारले न्यानो झोला कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशुलाई दुई जोर बाहिरी भोटो, दुई जोर भित्री भोटो, दुई जोर मोजा, दुई जोर ¥यापिङ बेड सिट उपलब्ध गराउनुका साथै सुत्केरी आमालाई एक जोर म्याक्सी उपलब्ध गराउँदै आएको छ ।
सरकारले न्यानो झोला तय गर्न सम्बन्धित बर्थिङ सेन्टरलाई प्रतिनवजात शिशु तराई तथा पहाडमा आठ सय र हिमाली जिल्लामा रु ९०० का दरले नगद उपलब्ध गराउँदै आएको छ ।
निर्देशक केसीले घरमा जन्मिएका नवजात शिशुलाई जन्मने बित्तिकै पुराना मैला लुगाले पुछ्नाले संक्रमण हुने र न्यानो लुगा नहुँदा शीतांग भएर मृत्यु हुने भएकाले त्यसको नियन्त्रणका लागि यो कार्यक्रम ल्याइएको र यो कार्यक्रम प्रभावकारी भएको बताए। कार्यक्रम सुरु भएपछि स्वास्थ्य संस्थामा आई सुत्केरी हुनेको संख्या पनि बढेको उनको भनाइ छ ।
‘चिसोकै कारण जाडोअर्थात् ‘हाइटोथर्मिया’ भएर नवजात शिशुको उच्च मृत्युदर देखिएपछि यो कार्यक्रम ल्याइएको थियो,’ निर्देशक केसीले भने, ‘अझै पनि नेपालमा नवजात शिशु र मातृमृत्युदर उच्च रहेकाले स्वास्थ्य संस्थामा नै सुत्केरी भई मृत्युदर घटाउनमा यो कार्यक्रम प्रभावकारी हुन्छ।’
नेपालमा प्रत्येक दुई घण्टामा करिब तीनजना नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यस्तो मृत्युमध्ये अधिकांश संक्रमणका कारण हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा प्रत्येक दुई घण्टामा तीनजना नवजात शिशुको मृत्यु हुन्छ।
वर्षमा १३ हजार नवजात शिशु जन्मेको २८ दिनभित्रै ज्यान गुमाउँछन् । तीमध्ये अधिकांश संक्रमणकै कारण ज्यान गुमाउने गर्छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।