जनकपुरधाम- शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।
श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्।
गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन्।
यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।
यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।
यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ।
सप्तरीका पूजाघाट झकिझकाउ
छठपर्व मनाउनका लागि सप्तरीका विभिन्न जलाशयलाई बिहानैदेखि सजाउने कार्य भइरहेको छ।

छठपर्व सुरु हुनुअघि नै सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न तालतलाउ, खोला र नदीमा आज सरसफाइ गर्दै पूजाघाट बनाउने कार्य तीव्ररुपमा भइरहेको छ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौंदेखि थुपारिएको फोहरलाई सफा गरी आज (बेलुकी) अस्ताउँदो सूर्यको अर्घ दिनको लागि आज बिहानैदेखि घाटको सरसफाइ एवं घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज–३ का विजय रजकले बताए।

सफा गरिएको पोखरीमा कागज, केलाको बोट र अशोकको पात तथा विद्युतीय बत्तीबाट सजाउने कार्यसमेत भइरहेको उनले जानकारी दिए।
त्यस्तै सप्तरी र सुनसरीको सिमानामा पर्ने भारदहस्थित सप्तकोसी ब्यारेजमा पनि आज बिहानैदेखि सफाइ तथा सजाउने कार्य भइरहेको स्थानीय वीरेन्द्र प्रमाणीले जानकारी दिए।
बिशेषगरी भारत सुपौल जिल्लाको वीरपुर र भीमनगरलगायत सप्तरी र सुनसरी जिल्लाका विभिन्न सहरका व्यक्ति छठपर्व मनाउनका लागि प्रत्येक वर्ष यहाँ आउने गर्छन्। छठ पर्व मनाउनका लागि कोशी ब्यारेजमा करिब एक किलोमिटरसम्म घाट निर्माण गरिएको बताइएको छ।
परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको कामनाका लागि मनाइने यो पर्व आज साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुनेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।