जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वर्षमा वृद्धभत्ता बढाउने उद्घोष गरेका छन्। उनले वृद्ध भत्ता वृद्धि भएपछि विपक्षीको मुखमा बुजो लाग्ने बताए।
सिरहाको चन्द्र माविमा आयोजित पूर्वसांसद हेमनारयण यादवको १५औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देश विकासको बाटोमा निकै उत्साह र उमंगका साथ अगाडि बढेको बताउँदै उनले भने, ‘विकासका काम एकैछिनमा भइहाल्दैन तर हेर्दै, गर्दै जाँदा हुँदै जान्छ, अलिकति समय लाग्छ, तर विकास हुन्छ।’
प्रधानमन्त्री ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै उनले भने, ‘गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धैर्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ।’
प्रधानमन्त्री ओलीले व्यवहारिक रुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना अन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिए।
उनले भने,‘प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिक स्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कल कारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य सरकारले अगाडि बढाएको छ।’
प्रम ओलीले मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्ग पनि द्रुत गति निर्माण गरिने आश्वासन दिंदै रिले अनशनमा बसेकाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले हुलाकी मार्ग निर्माण गर्न स्वयं सरकार आइसकेपछि रिले अनशनमा भोको बस्न नपर्ने बताए।
हुलाकी मार्गको निर्माण ६ महिनामा सम्पन्न गर्नु पर्ने माग राखी रामरिझन यादवको संयोजकत्वमा एक महिनादेखि हुलाकी सडकको महावीर चोक र केहीदिन जनकपुरमा समेत रिले अनसन बसेका थिए। सरकारको आश्वासनसँगै शनिबारै संघर्ष समितिले अनसन तोडेको छ।
प्रधानमन्त्री ओलीले चन्द्रगढी विमान स्थलबाट रात्रिसेवा सुरु गरेको बताउँदै उनले जनकपुर विमानस्थलबाट रात्रिसेवा चाँडै सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।
सिरहा शिक्षामा सबैभन्दा पछाडि परेको जिल्ला भएको बताउँदै उनले आजका शिशुलाई २० वर्षसम्म शिक्षामा लगानी गरे यही ठाउँ विद्वानको स्थल बन्ने बताए। सानो जात, गरिबी भनेर हेप्ने जमाना गएकाले अब अपांगलाई हेला गर्नुभन्दा माथि उठ्न उनले सबैलाई आग्रह गरे।
यसैबीच प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थलबाहिर नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो। नेविसंघले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। प्रहरीले जथाभावी लाठीचार्ज गरेको नेवि संघले जनाएको छ।
२०५६ सालमा तत्कालीन नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ४ का लागि निर्वाचित सांसद हेमनारायण यादवको धनगढी पार्टीको बैठकमा भाग लिन जाने क्रममा पूर्व–पश्चिम राजमार्गको कसाहा स्थित गागन खोलाको दोस्रो पुलबाट २०६० माघ १९ गते अपहरण भएको थियो।
यादवको शव भोलिपल्ट अपहरण भएको स्थानभन्दा ३० किलोमिटर टाढा कमला नदीको पुलभन्दा ५ सय मिटर दक्षिणमा पोर्ताहामा फेला परेको थियो। सांसद यादवको हत्या भएको १५ वर्ष बितिसके पनि दोषी पत्ता लाग्न सकेको छैन। हत्या भएको माघ १९ को सम्झनामा सिरहामा सांसद यादवको स्मृतिसभा मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।