काठमाडौं– वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग भेट गरेका छन्।
भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गरेका छन्।
भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाह दुवै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्ने बताएको नेपालसँग भ्रमणमा रहेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीव्र आर्थिक विकासका बारेमा चर्चा गरेका थिए।
भिफाभान्हले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी बताए।
‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो। हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ,’उनले भने।
नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उनले बताए।
यसैगरी, लाओस कम्युनिष्ट पार्टीको मुख्यालयमा नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच नेपाली टोली वार्ता गरेको थियो।
वरिष्ठ नेता नेपालको नेतृत्वमा बिहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र बिना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी छन्।
प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्कने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।