काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना दिँदै यस पर्वले सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्।
छठ प्रेम, स्नेह र सामाजिक सद्भाव बोकेको नेपालीहरुको चाड भएको बताउँदै उनले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरे। नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबुत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पुर्याउन छठले प्रेरणा देओस् भन्ने उनले कामनासमेत गरेका छन्।
'देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ। निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो,' उनले सन्देशमा भनेका छन्, 'प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।