बुटवल- प्रदेश ५ मा 'प्रदेश विकास परिषद्' गठन गरिएको छ। प्रदेश सरकारले प्रदेश विकास परिषद् गठन गरेको हो।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्काे बैठकले प्रदेश विकास परिषद्मा प्रदेश सरकारबाट मनोनयन गरिने सदस्यहरुको नामावली स्वीकृत गर्दै प्रदेश परिषद्लाई पुर्णता दिएको हो।
प्रदेशमा मुख्यमन्त्रिको संयोजकत्वमा विकास परिषद् रहने प्रावधान छ। सोहीअनुसार प्रदेश ५ मा प्रदेश विकास परिषद्मा सदस्यहरु मनोनयन गरिएकाे हाे।
समितिमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश संसदका संसदीय समितिका सभापतिहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, सबै जिल्लाका जिल्ला समन्वय परिषद्का प्रमुखहरु, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु मध्येबाट १५ जना सदस्य रहेका छन्।
त्यस्तै, विभिन्न संघसस्था, तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी कम्तिमा एक तिहाइ महिलासहित समाजमा विशिष्ट योगदान पुर्याएका २५ जना विज्ञहरु पनि सदस्य रहेका छन्। पदेन सदस्यबाहेक मनोनयन गर्नुपर्ने सदस्यहरु मनोनयन गरिएको छ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निणर्य गरेको छ। स्थापना दिवस मनाउन मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई प्रचारको जिम्मेवारी दिएको छ।
आन्तरीक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीलाई व्यवस्थापन र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको अगुवाइमा झाँकीसहितको प्राभातफेरी गर्न आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।