सियोल- कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्त रुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ।
दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो। दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको जनाइएको छ।
कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो। देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रुपमा शतवार्षिक समारोह मनाउने सहमति गरेका थिए।
उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन्।
अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकैदिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।