काठमाडौं– पानी जहाजमा काम लगाईदिने भन्दै लाखौं रुपैयाँ ठगी गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी गरी फरार भएका ललितपुरका ६८ वर्षीय हेमबहादुर घलेलाई पक्राउ गरेको हो ।
उनलाई वैदेशिक रोजगारीमा ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गत वर्ष भदौ १५ गते ९ लाख ३७ हजार ४ सय ६६ रुपैयाँ जरिवना र ६ महिना कैदको फैसला सुनाएको थियो । त्यसपश्चात उनी फरार थिए। उनलाई सोमबार राति जावलाखेलबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। कैद भुक्तानका लागि उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ ।
घलेले अष्ट्रेलियामा पानी जहाजको काममा लगाइएदिने र मासिक १८ सय अमेरिकी डलरसम्म कमाई हुने भन्दै ३/४ जना व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गरेका थिए। प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै उनले ललितपुरकै राजन डंगोललगायत ४ जनाबाट २९ लाख ६२ हजार ५ सय रुपैयाँ ठगी गरेको पाइएको थियो । आफू ठगिएको थाहा पाएपछि डंगोलले २०७१ भदौंमा घलेविरुद्ध उजुरी दिएका थिए । त्यसपश्चात घले फरार थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।