काठमाडाैं- सहिद सप्ताहको अवसरमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ।
सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेकाे काठमाडाैंको शोभाभगवतीमा मंगलबार बिहान आयोजित श्रद्धाञ्जली सभामा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत सर्वसाधरणले सहिदद्धयको शालिकमा माल्यार्पण गरे। साे क्रममा उनीहरुले सहिदद्वयकाे योगदानको स्मरण गरे।
श्रद्धाञ्जली सभालाई सम्बोधन गदै मेयर शाक्यले सहिदको सपना साकार पार्नका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए। दलीय स्वार्थका कारण राम्रो काममा पनि असहयोग गर्ने प्रवृति देखिएको भन्दै उनले त्यसलाई चिरेर 'समृद्ध नेपाल र सुखी नेपाली' बनाउने अभियानमा अघि बढ्नुपर्ने बताए।
उनले विभिन्न बाहानामा महानगरभित्रका सार्वजनिक जग्गा कब्जा गर्ने काम भइरहेको भन्दै त्यसो नगर्न सबैलाई सचेत गराए। सार्वजनिक संस्था, व्यक्ति विशेष र वृक्षारोपण लगायतका नाममा योजना बिना नै सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्दा महानगर कुरुप बन्दै जाने भन्दै उनले योजनवद्ध विकासमा सहयोग पुर्याउन सबैलाई आव्हान गरे।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए।
निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफलमा र ९ दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।