हवाना– क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १ सय ७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताएका छन्।
क्यानेलले ट्वीटरमा लेखेका छन्, 'आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ। अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १ सय ७२ जना घाइते भएका छन्।
घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन्।'
आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ।
व्यापक वर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ।
क्युवामा आँधीबाट हरेक वर्ष दर्जनौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन्।
सन् १९४० को डिसेम्बरमा पश्चिमी सहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।