जनकपुर– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेश आन्दोलनको दम्भ नदेखाउन चेतावनी दिएका छन्। मन्त्री यादवले मुख्यमन्त्री राउतलाई विकास विरोधी चरित्र प्रदर्शन नगर्न सुझाव दिँदै यस्तो चेतावनी दिएका हुन्।
जनकपुरमा आइतबार आयाेजित पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेश सरकारको बोली र व्यवहारमा ठेगान नरहेको आरोप पनि लगाए। मन्त्री यादवले प्रदेश २ सरकार विकास तथा समृद्धिप्रति प्रतिबद्ध नभएको भन्दै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) सञ्चालनका लागि सत्तारुढ संघीय समाजवादी फोरम नेपाललगायत सबै दल सहमत रहेका बेला जानकारी बिनै प्रदेश सरकारले कम्पनी कब्जा गरिरहेको बताए।
उनले कारखाना सञ्चालनमा अवरोध गर्ने मनसायले मधेश आन्दालेनका नाममा गतिविधि भइरहेको समेत आराेप लगाए। मन्त्री यादवले भने, ‘प्रदेशका जनतालाई रोजगारीको लागि उद्योग सञ्चालन गर्न अपरिहार्य रहेको हुँदा कब्जा गरिएको जग्गा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बोर्ड तत्काल हटाउनसमेत अनुरोध गर्दछु।’
मन्त्री यादवले मुख्यमन्त्री राउतलाई 'जचुकाली' सञ्चालनका लागि वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीको कार्यालयले विस्तार गरेको क्षेत्र हटाउन आग्रह गरिएको बताए। उनले सरसल्लाहअनुसार नै प्रदेश मन्त्रालयले कामकाज गर्न भने पनि जचुकाली सञ्चालनमा अवरोध गरिएकाे स्मरण गरे।
यादवले भने, ‘तर, मुख्यमन्त्री राउतले त जचुकाली सञ्चालनका बारेमा गम्भीर नभई पहिले विरगञ्जस्थित चिनी मिल सञ्चालन गरेर देखाउन पो भन्छन्। जबकि, सरकारले बन्द कारखाना तथा उद्योग सञ्चालनका लागि नीति ल्याउँदै गरेका बेला यसरी मुख्यमन्त्री राउतले बोल्नु मधेश आन्दोलनको भावना विपरीत छ।’
उनले जचुकाली सञ्चालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरुसँग निरन्तर संवाद र सम्पर्क भइरहेको भन्दै विदेशी लगानीकर्ताहरु जचुकाली अनुगमन गर्न जनकपुर आइरहेका बेला जचुकालीको बोर्डसमेत हटाएर कारखाना सञ्चालनप्रति गम्भीर नहुनु दु:खद रहेको बताए। जचुकालीलाई पब्लिक–प्राइभेट पार्टनरसीपअनुसार चलाउने तयारीस्वरुप छलफल भइरहेको मन्त्री यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।