काठमाडौं– नेपग्याजम (NepGasm) ले आफ्नो पाँचौ संस्करणको स्ट्यान्ड अप कमेडी गरेको छ।
नेपग्याज्मका डोरेस खतिवडा, लेखमणी त्रिताल, विवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारी बेग्लाबेग्लै प्रस्तुतीमा राजनीति, समाज, दोस्तीका अनेक किस्सा र व्यंग्य सुनाएका थिए। उनीहरुको किस्साबाट सयौंको ताली, हाँसो र खित्काले राष्ट्रियसभा गृहको हल हाँसोले गुन्जयमान भएको थियो।
कार्यक्रममा हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र किरण केसीको उपस्थिति थियो। यस्तै राष्ट्रिय फुटबलर रोहित चन्दले पनि कार्यक्रमको मजा लिएका थिए।
डोरेस खतिवडाबाट प्रारम्भ भएको कमेडीको समापन ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणी त्रितालको प्रस्तुतिबाट सम्पन्न भएको थियो। देशका धेरै ठाउँमा तथा यूट्यूब च्यानलबाट निरन्तर आफ्नो व्यंगात्मक प्रस्तुति दिँदै आएका कलाकार नेपाली हास्य व्यंग्यका पुराना कलाकार मदनकृष्ण श्रेष्ठको सामू आफ्नो कला प्रस्तुत गर्न पाउँदा हर्षित देखिन्थे।
नेपग्याजमका पाँच जना कलाकारले मदनकृष्ण श्रेष्ठ तथा किरण केसीको योगदानका लागि सम्मानपत्र प्रदान गरेका थिए। सम्मानपछि कलाकार किरण केसीले दर्शकको उपस्थिति र नयाँ कलाकारको काम देखेर नयाँ पुस्ताले हास्य व्यंग्य विधा हाँक्न सक्ने विचार व्यक्त गरे।
कलाकार मदनकृष्ण श्रेष्ठले “मैले त यो सम्मान कलाकारलाई मैले पो दिने होला भन्ठानेको त मलाई पो सम्मान गरे त! तरिका हो ? भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो।
कार्यक्रममा अधिकांश कलाकारका आमाहरुको उपस्थिति रहेको थियो। कलाकार सरोज भण्डारी (झक्कास झापाली)ले आफ्नो प्रस्तुतिका दौरान आफूहरुले अहिले प्राइमरी कक्षा संचालन गरिरहेको कलकारद्वय श्रेष्ठ र केसी विश्वविद्यालय भएको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।