काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हालै स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा भएको आफ्नो सहभागिताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘ब्रिफिङ’ गरेका छन्।
आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा पुगी प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई त्यसबारे ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको स्विट्जरल्याण्ड डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र स्विट्जरल्याण्डसँग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो,’ राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीको साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायत सरकारका उच्च अधिकारीहरू समेतको उपस्थिति थियो।
माघ ८ देखि ११ सम्म चलेको ४९औँ वाार्षिक बैठकमा प्रधानमन्त्री ओलीले दक्षिण एसिया र रणनीतिमाथिको दृष्टिकोण’ र ‘प्रजातन्त्रको आकार र भविष्य’ शत्रमा नेपालको धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।