काठमाडाैं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गरेका छन्।
मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम कांग्रेसले गरिरहेको आरोप पनि लगाए। जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर कांग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत अवराेध खडा गरिरहेको उनको दाबी छ।
आइतबार सहिद सप्ताह कार्यक्रमअन्तर्गत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै उनले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमतअनुसार अघि बढाउन जनता आफैं अग्रसर हुने बेला आएको पनि स्पष्ट पारे। मेयर शाक्यले सहिदहरुले देखाएको बाटाेबाटै अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे।
मेयर शाक्यले निर्वाचनमा जित्नेलाई शासन गर्न दिएमात्रै सहिदहरुले देखाएको बाटोबाट मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे।
विसं १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा बकाइनोको रुखमा झुन्ड्याएर धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको थियो। विसं १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन जहानिया राणा शासनको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्युदण्ड दिइएको थियो।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए।
निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु, पचलीमा झुन्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।