इटहरी- डाक्टर गोबिन्द केसीको समर्थनमा इटहरीमा शनिबार बिहान १० बजे देखि सुरु भएको २४ घन्टे सामुहिक अनसन आज समापन भएको छ। अनसनकारीले एक बालिकाको हातबाट जुस पिएर अनसन ताेडेका थिए। अनसनकारीलाई २ कक्षामा अध्ययनरत सुम्निमा लिम्बुले जुस पिलाएकी हुन्।
शुक्रबार संसदबाट पारित राष्ट्रिय चिकित्सक शिक्षा विधेयक शैक्षिक माफियाको पक्षमा भएको भन्दै लिवरल सोसाइटीले अनसन सुरु गरेकाे थियो।
अनसन समापनपछि बोल्दै लिवरल सोसाइटीका अध्यक्ष सुवेक्छु देवानले डा केसीले गरिब जनताका छोराछोरीले सहज ढंगबाट चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने माग राखेकाेमा आफूहरुकाे त्यसमा समर्थन रहेकाे बताए। 'हामी डा केसीको साथमा छौं भन्ने म्यासेज दिन अनसन बसेका हौं', उनले भने, 'सरकार माफिया र दलालको स्वार्थमा फस्दै गएको र त्यस विषयमा सचेत गराउनु पनि अनसनकाे उद्देश्य हाे।'
अनसनको समापनमा पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले केसीका मागमा आफ्नो पूर्णरुपमा ऐक्यबद्धता रहेको बताए। आफू र डा गोबिन्दराज पोखरेलले केही दिन अगाडि केसीको समर्थनमा बिज्ञप्ति नै निकालेको उनले स्मरण गरे।
डा केसीको १४औं अनसनमा आफैं वार्ता टोलीमा रहेर काम गरेको स्मरण गर्दै उनले केसीका माग जायज भएर पनि सरकार सकारात्मक बन्न नसकेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।