म्याग्दी- भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ। थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
बेनी, पोखरा, काठमाडौंलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन शनिबार बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताए। सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ।
मुस्ताङका सबै सडक अवरुद्ध भएका छन्। हिउँ पग्लिन एक/दुई दिन लाग्ने जनाइएको छ। प्रतिकूल मौसम र धावनमार्गमा हिउँ जमेकाले पोखरा–जोमसोम हवाई उडान पनि भएको छैन। मुस्ताङ सडकका साथै विद्युत सेवाबाट पनि विच्छेद भएको छ। घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ।
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पैदलमार्ग र विद्युत सेवा अवरुद्ध बनेको छ। गाउँपालिकाको सबै सडक, पैदलमार्ग हिउँका कारण आवतजावत बन्द भएको अध्यक्ष थमसरा पुनले बताए।
म्याग्दीका विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुँडाएकाले शुक्रबार रातिदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएको हाे। बरञ्जा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युतका पोल ढलेको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए।
म्याग्दीमा करीब पाँच महिनापछि वर्षा भएको हो। मुस्ताङमा यस वर्ष चौथोपटक हिउँ परेको हो। बेनपा–१० बाखेतका लालबहादुर पुनले म्याग्दीमा १२ वर्षयताकै ठूलो हिमपात भएको बताए। वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकमा खुसियाली छाएको छ।
म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायतका पर्यटकीय स्थलमा हिउँ खेल्न विभिन्न ठाउँबाट पर्यटक पुगेका छन्। बेनी–जोमसोम, पोखरेबगर–घोडेपानी, बेनी–दर्वाङलगायत म्याग्दी र मुस्ताङमा सञ्चालित विकास निर्माणका काम पनि हिमपातका कारण ठप्प बनेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।