काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन्।
कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले भने, 'देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रन्छ,'।
नेता पौडेलले जहाज खरिद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले संलग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताए।
फाउण्डेशनकी अध्यक्ष एवम् कांग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कसैले सिध्याउन नसक्ने बताइन्।
'देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरू एकजुट हुनुपर्छ, अर्कोलाई सक्छु भन्नेहरु आफैँ सकिनेछन्', उनले भनिन्।
कांग्रेस नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए। 'देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त रहेको छ यो देशका लागि खतरा हो', उमहतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।