कञ्चनपुर– नेपाल तरुण दलले सरकारविरुद्ध धनगढीमा बृहत विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ। दुई तिहाइको दम्भमा जनविरोधी काम गरेको भन्दै धनगढी चौराहादेखि पार्क मोडसम्म माघ १४ गते विरोध र्याली र सभाको आयोजना गरिने दलले जानकारी दिएको छ।
सरकारले महङ्गी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारको विरोधमा प्रदर्शन गर्ने तरुण दलका कैलाली अध्यक्ष दिपेन्द्र बमले बताए।
उनले जनता भोकभोकै बसिरहेको र सार्वजनिक यातायातसमेत गुणस्तरीय नपाइरहेको अवस्थामा पार्टीका नेताहरु महंगो गाडीमा गुडिरहेको आरोप लगाए।
सभामा केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।