पोखरा- पोखरा महानगरपालिकाको चौथो नगरसभाले ८ वटा कानुनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ। पोखरा सभागृहमा शुक्रबारदेखि सुरु भएको नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेका थिए।
सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो।
विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए। महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ।
नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानुनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए।
जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए। नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।