एजेन्सी– चीनमा स्थापित परम्परा तोड्दै राष्ट्रपति सि जिनपिङको उत्तराधिकारी सार्वजनिक नगरी सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेस (अधिवेशन) अन्त्य भएको छ।
कंग्रेसले मंगलबार राष्ट्रपति सिलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेको थियो । साथै उनको ‘सि विचारधारा’लाई पार्टी विधानमा समावेश गर्ने निर्णय पारित गरेको थियो।
विचारधारा पार्टी विधानमा समेटिएसँगै अब सि पनि चीनका महान् नेता माओ त्सेतुङ र देङ स्याओपिङकै हाराहारीमा पुगेका छन् ।
उत्तराधिकारी अघि नबढाइएको र स्थायी समितिमा युवा नेता नल्याइएका कारण राष्ट्रपति सिले पार्टीको आगामी कंग्रेसपछि पनि राष्ट्रपतिको तेस्रो कार्यकाललाई निरन्तरता दिने अनुमान गरिएको छ।
‘सि विचारधारा’ सर्वसम्मतिबाट पारित भएपछि सत्ता र पार्टीमा सिको पकड अझै बलियो भएको छ । राष्ट्रपति सि पाँच वर्षपछि पदमुक्त भए पनि पार्टी प्रमुख र सैन्य परिषद् अध्यक्षमा कायमै रहन सक्छन्।
यी हुन् शक्तिशाली स्थायी समितिका सदस्य
एक साताअघि सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशन बुधबार अन्त्य हुनुअघि पार्टीको केन्द्रीय कमिटि, पोलिटब्युरो र सर्वाधिक शक्तिशाली ७ सदस्यीय स्थायी समिति गठन भएको थियो।
नयाँ स्थायी समितिको गठनले राष्ट्रपति सिलाई आगामी ५ वर्षका लागि अझ शक्तिशाली बनाएको छ । ७ सदस्यीय स्थायी समितिमा ६४ वर्षे राष्ट्रपति सि र ६२ वर्षे प्रधानमन्त्री लि खछियाङ बाहेका अन्य ५ सदस्य नयाँ छन्।
स्थायी समितिका नयाँ सदस्यमा ६२ वर्षे उपप्रधानमन्त्री वाङ याङ परेका छन् । उनलाई कार्यकारी उपप्रधानमन्त्री बनाइएको छ । उनी दक्षिणी प्रान्त ग्वाङडोङका पूर्व पार्टी प्रमुख पनि हुन्।
अर्का सदस्य व्यापारिक सहर संघाइको पार्टी प्रमुख रहेका ६३ वर्षे हान झेङलाई चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको नेतृत्व पनि दिइएको छ । यस्तै, स्थायी समिति सदस्य ६० वर्षे झाओ लेजीले पार्टीको भ्रष्टाचारविरोधी निकायको नेतृत्व गर्नेछन् ।
६७ वर्षे लि झाङसु र ६२ वर्षे वाङ हुनिङ पनि स्थायी समिति सदस्य भएका छन् । उत्तराधिकारी अघि नबढाइएको र स्थायी समितिमा युवा नेता नल्याइएका कारण राष्ट्रपति सिले पार्टीको आगामी कंग्रेसपछि पनि राष्ट्रपतिको तेस्रो कार्यकाललाई निरन्तरता दिने अनुमान गरिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको ५÷५ वर्षमा हुने अधिवेशन सकिएपछि पार्टीको २५ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय शक्तिशाली स्थायी समितिको घोषणा गरिन्छ । कांग्रेसले पहिले २ सय ५ सदस्यीय केन्द्रीय कमिटि चयन गर्छ । त्यसपछि पोलिटब्युरो र स्थायी समिति चयन गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।