काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राविधिक जनशक्तिको अभावमा पुनःनिर्माणले जनताको सोचअनुसार गति लिन नसकेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनःनिर्माणका लागि गाउँपालिका र नगरपालिकाले माग गरेअनुरुप प्राधिकरणले प्राविधिक खटाउने जानकारी दिए। 'प्राधिकरणले एकमुष्ट रुपमा एक हजार १०० प्राविधिक माग गर्दा छानिएकामध्ये ९०० भन्दा बढीले काठमाडौँमै बस्न पाऊँ भनी निवेदन दिँदा ग्रामीण भेगको पुनःनिर्माणमा समस्या भएको छ,' उनले भने।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र सचिव अन्यत्र गए पनि काम हुन सक्ने गरी संस्थागत प्रणाली विकास गर्नेतर्फ कदम अघि बढाउने उनको प्रतिबद्धता छ। 'पुनःनिर्माणका लागि थप सहयोग आवश्यक परे दाताको अर्को सम्मेलन पनि गराउँछु,' उनले भने, 'आर्थिक स्रोतको अभावमा पुनःनिर्माणमा ढिलाइ भएको होइन, विधिअनुसार स्रोत परिचालन गरेर पुनःनिर्माण हुन सकेन।'
यसअघि प्राधिकरणले सार्वजनिक गरेको ३५ वटा नमुनाका घर मात्र बनाउनुपर्ने व्यवस्था व्यावहारिक हुन नसक्ने भएकाले स्थानीय तहबाट नक्सापास गराएर घर बनाउन सकिने भुसालले बताए।
प्राधिकरणमा आफूले बाँकी अवधि काम गर्ने बताउँदै उनले प्रधानमन्त्रीलाई आफ्ना कारण काम गर्न अप्ठ्यारो भए सहज रुपमा छोडिदिने भुसालको भनाइ छ।
प्राधिकरणका प्रवक्ता यमलाल भुसालले सात लाख ६७ हजार घर पुनःनिर्माणका लागि चालु आवमा रु एक खर्ब ४९ अर्ब बजेटको व्यवस्था भएको जानकारी दिए। अहिलेसम्म ८७ हजार भूकम्पपीडितले दोस्रो किस्ता बुझेका छन्।
भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये लमजुङ र बागलुङमा कार्यालय स्थापना हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।