जनकपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका सवारीसाधन सार्वजनिक गरेकोे छ।
ट्राफिक प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मलेन गरी आवश्यक कागजात दुरुस्त नरहेका तथा भारतीय नम्बर प्लेटका स्कारपियो १ थान, सफारी १ थान, बोलेरो १ थान, विभिन्न ब्रान्डका १४ थान मोटरसाइकल र एउटा टेम्पो सार्वजनिक गरिएको हो।
यी सवारीसाधन चोरी भएका, हराएका वा कागजात दुरुस्त नभई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सम्बन्धित सवारीधनीले आवश्यक कागजातका साथ प्रक्रिया पूरा गररे सवारीसाधन लैजान सक्ने प्रहरी निरीक्षक दीपककुमार साहले बताए। यसका लागि एक साता अवधि दिइएको छ।
यस अवधिभित्र पनि कागजात सहित माग दाबी गर्न कोही नआएमा सवारीसाधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइने प्रहरी निरीक्षक साहले बताए।
आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनामा परी धनुषामा ५६ जनाले र चालू आर्थिक वर्षकाे पुससम्ममा २९ जनाले ज्यान गुमाउनु परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। दुर्घटना न्यूनीकरणका लागि धनुषा ट्राफिक प्रहरीले निरन्तर चेतनामूलक कार्यक्रम गर्दै आएको छ।
प्रहरी निरीक्षक साहले कात्तिक १२ गतेदेखि लागू भएको 'समुदाय–प्रहरी साझेदारी कार्यक्रम' पनि प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।