राजविराज– प्रहरी कारबाहीमा छोरो मारिएपछि सप्तरीको सुरुङ्गा नगरपालिका–६ कडरबोनाका ६१ वर्षीय देवनारायण चौधरी बेसाहारा बनेका छन्।
परिवार शोकमा छ। दीपेन्द्रको हत्या गरेर प्रहरीले अन्याय गरेको उनीहरूको गुनासो छ।
सशस्त्र समूहमा लागेर आपराधिक गतिविधि गरेको भन्दै ३५ वर्षीय दीपेन्द्र जैसवाल भन्ने दीपेन्द्र चौधरीलाई प्रहरीले बुुधबार (माघ ९ गते) गोली हानी हत्या गरेको थियो।
प्रगतिशील तराई मुक्ति मोर्चा ‘सिजन समूह’ का संयोजकसमेत रहेका दीपेन्द्रले प्रहरीलाई लक्षित गरी गोली चलाएपछि जवाफी कारबाही गर्दा मारिएको प्रहरीले दाबी गरेको छ। तर, परिवारका सदस्यले भने प्रहरीले पक्राउ गरेर नियोजित रुपमा उसको हत्या गरेको आरोप लगाइरहेका छन्।
‘अपराध गरेकै भए जेल जान्थ्यो, प्रहरीले कानुनी बाटो छोड्दा दीपेन्द्र मारियो,’ देवनारायण भन्छन्, ‘पक्राउ गरिसकेपछि गोली हानेर प्रहरीले हामीमाथि अन्याय गर्यो।’ कानुनी बाटो हुँदाहुँदै इन्काउन्टर र आत्मरक्षाका नाममा दीपेन्द्रको हत्या गरीएको उनको आरोप छ।

घट्नापछि देवनारायणहित, ५५ वर्षीय आमा राजकुमारी, पत्नी २८ वर्षीय पुनम, छोरी ७ वर्षीया आरती, छोरा ४ वर्षीय आर्यान र भाइ १२ वर्षीय जितेन्द्रसमेत विक्षिप्त छन्। प्रहरीले अपराधि घोषणा गरेर दीपेन्द्रको हत्या गरेपछि समाजमा एक्लिएको उनीहरूले महसुस गरेका छन्।
स्थानीय नेता र जनप्रतिनिधिले दिएनन् साथ
प्रहरीले दीपेन्द्रको गैरन्यायिक हत्या गरेको आरोप लगाउँदै बिहीबार आफन्त र स्थानीयबासीले राजविराजमा प्रदर्शन गरे। घटनाको उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरीलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति लगायतका माग गर्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय घेराउ पनि गरे। परिवारले दीपेन्द्रको शव अझै बुझेको छैन।
तर, स्थानीय राजनितिक दलका नेता तथा जनप्रतिनिधि समेतले साथ नदिएपछि अहिले उनीहरू सुस्ताएका छन्। ‘सल्लाह गर्नुपर्यो भनेर गाउँका नेता/कार्यकर्ता सबैलाई बोलायौँ, तर कोही आएन,’ देवनारायण भन्छन्, ‘प्रहरीले धम्की दिएको छ, हामीलाई सहयोग गर्न कोही तयार भएन।’
आन्दोलन र प्रदर्शनका कुरा गरे गोली हान्ने प्रहरीको धम्किले आफूहरु अझै अन्यायमा परेको उनले बताए।
तीन दिनदेखि चुलो बलेन
प्रहरी कारबाहीमा दीपेन्द्र मारिएको सुनेपछि हालसम्म देवनारायण र भाइ नन्दकुमारको घरमा चुलो बलेको छैन। बालबालिका समेत भोकभोकै छन्।
घरमा कसैको मृत्यु भएपछि दाहसंस्कार नभएसम्म चुलो बाल्न र बढारकुँडार गर्न नमिल्ने संस्कारका कारण परिवारका सबै भोकै परेको देवनाराणका ज्वाँई श्याम चौधरीले बताए।
‘दाहसंस्कार नहुन्जेल घरमा चुलो बल्दैन,’ उनले थपे, ‘दीपेन्द्रको शव अस्पतालमा छ, बालबच्चासमेत च्युरा र मुरही खाएर बाँचेका छन्।’

घर परिवारलाई बाँच्ने र सहज जीवन यापन गर्ने वातावरण तयार गरिदिन उनले स्थानीय राजनितिक दल, जनप्रतिनिधि र प्रहरी समेतलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।